हरि ॐ सत्संगमा स्वस्थानी पूजा विधिपूर्वक सम्पन्न
हरि ॐ सत्संग परिसरमा परम्परागत धार्मिक विधिअनुसार स्वस्थानी व्रत तथा पूजा श्रद्धा र भक्तिभावका साथ सम्पन्न भएको छ। पौष शुक्ल पूर्णिमादेखि सुरु भई माघ शुक्ल पूर्णिमासम्म वाचन गरिने श्रीस्वस्थानी व्रत कथाको समापन अवसरमा विशेष पूजा, हवन र आरती कार्यक्रम आयोजना गरिएको थियो।
पूजामा सहभागी भक्तजनहरूले शुद्धता, संयम र आस्थाका साथ स्वस्थानी देवी तथा भगवान् शिवको आराधना गर्दै परिवारको सुख–शान्ति, स्वास्थ्य र समृद्धिको कामना गरेका थिए। स्वस्थानी कथावाचन, भजन–कीर्तन र मन्त्रोच्चारणले हरि ॐ सत्संग परिसरलाई पूर्ण रूपमा आध्यात्मिक वातावरणले भरिएको थियो।
समापन कार्यक्रममा व्रतालु महिलाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो भने पुरुष, वृद्धवृद्धा तथा बालबालिकाको पनि सक्रिय सहभागिता देखिएको थियो। पूजापछि प्रसाद वितरण गरिएको थियो।

यस अवसरमा बोल्दै आयोजकहरूले स्वस्थानी व्रतले धार्मिक आस्था मात्र नभई अनुशासन, आत्मसंयम र नैतिक शिक्षाको सन्देश दिने बताएका छन्। यस प्रकारका धार्मिक कार्यक्रमहरूले हरि ॐ सत्संगलाई आध्यात्मिक चेतना र सांस्कृतिक परम्परा जोगाउने केन्द्रका रूपमा स्थापित गर्दै लगिरहेको स्थानीय श्रद्धालुहरूको भनाइ छ।

