हरि ॐ सत्सङ्गको स्थापनार्थ शिलान्यास कार्यक्रम सम्पन्न
वि.सं. २०७० असार १८ गते हरि ॐ सत्सङ्गको भवनको शिलान्यास कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। उक्त शिलान्यास कार्यक्रम प्रमुख अतिथि श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराज ज्यूको करकमलबाट शिलान्यास पूजा सम्पन्न गरिएको हो।
कार्यक्रममा आध्यात्मिक चेतना, साधना तथा सत्सङ्गमार्फत समाजमा शान्ति, सद्भाव र नैतिक मूल्य प्रवर्द्धन गर्ने उद्देश्यले हरिओम सत्सङ्ग स्थापना गर्ने संकल्प व्यक्त गरिएको थियो। शिलान्यास अवसरमा गुरुज्यूले सत्सङ्ग, ध्यान र साधनाको महत्वबारे प्रकाश पार्दै समाजलाई सकारात्मक दिशामा अगाडि बढाउन यस्ता आध्यात्मिक केन्द्रहरूको आवश्यकता रहेको बताउनुभयो।

उक्त कार्यक्रममा तत्कालीन गैँडाकोट गाविस सचिव पदम प्रसाद घिमिरे, वडा नागरिक मञ्चका संयोजक गङ्गा बहादुर पाण्डेलगायत समाजका भद्रभलाद्मी, बुद्धिजीवी, श्रद्धालु तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
शिलान्यास कार्यक्रमको सफलतासँगै हरिओम सत्सङ्गलाई भविष्यमा योग, ध्यान, सत्सङ्ग, प्रवचन तथा सामाजिक–आध्यात्मिक गतिविधिहरू सञ्चालन हुने केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ।

